करमा छुट दिँदै स्थानीय सरकार


कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि अर्घाखाँचीका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् । 
जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६÷७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । 

सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । 

त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए। उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । 

कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका ट्याङ्कीहरुलाई लकडाउन अवधिको भाडा मिनाहा गरेको छ । सटरहरुको अवस्था हेरी ५० प्रतिशत भाडा छुट गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनालले बताइन् । शान्ति बगैँचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए । 

पाणिनि गाउँपालिकाले मालपोत कर बुझाउने समय तीन महिना थप गरेको छ । कोरोनाका कारण स्थानीयवासीमा आर्थिक समस्या हुने देखिएकाले आर्थिक वर्ष २०७६÷७७ को मालपोत कर असार मसान्तसम्म तिर्नुपर्ने भए पनि तीन महिना अर्थात् असोज मसान्तसम्म विलम्ब शुल्क नलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए  । व्यवसाय, उद्योगधन्दा धेरै नभएकाले मालपोत कर तीन महिनापछि बुझाए पनि विलम्ब शुल्क नलिने निर्णय भएको उनको भनाइ छ । 

(यो समाचार रातोपाटी  २ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links