गाउँपालिकामा घरलौरी कर, टिनको छानोलाई तीन सय !

२८ असार, काठमाडौं । गाउँ गाउँमा सिंहदरबारको अवधारणा आएपछि धेरैले आफ्नै घरआँगनमा सेवा सुविधाको चाङ लाग्ने सोचेका थिए । तर, गुल्मीको कालीगण्डकी गाउँपालिकाका बासिन्दाले चाहिँ गाउँमा सिंहदरबार होइन, पञ्चायती व्यवस्था आएको महसुस गरेका छन् ।

गाउँपालिकाले पाखामा टिनको छानो लगाएको घर देख्नासाथ करको दर बढाएपछि गाउँबासीले पञ्चायतकालको स्मरण गरेका हुन् ।
गाउँपालिकाले आफ्नो वार्षिक बजेटमा घरलौरी कर उठाउने निर्णय गरेको छ । यसरी उठाइने करको दरको एउटा आधार छानो कस्तो छ भन्ने आधारमा तय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पालिकाभित्र रहेका झण्डै साढे ३२ सय घरबाट तिरो, मालपोत र छानोबापत ‘घर कर’ शीर्षकमा २५ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिइएको छ ।

थापाका अनुसार गाउँपालिकामा खरको छानो रहेको घरबाट वार्षिक १०० रुपैयाँ कर उठाउने निर्णय गरिएको छ । ढुंगा अथवा टिनले छाएको छानोबाट वार्षिक ३०० रुपैयाँ कर उठाउने निर्णय भएको छ ।

पक्की घर हुनेहरूको हकमा पहिलो एक तलासम्म ५०० रुपैयाँ र त्यसपछि तला अनुसार पाँच सय रुपैयाँको दरमा थप हुँदै जाने गरी करको दर निर्धारण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

अनि, गाउँले जनताले कर तिर्न मानेका छन् त ? अनलाइनखबरको प्रश्नमा अध्यक्ष थापाले भने ‘पञ्चायतकालतिर पनि यसरी घरको कर लगाउने गरिएको थियो । बीचमा जनयुद्धको समयमा कर उठाउने प्रचलन हरायो । हामीले पञ्चायतकालको त्यही प्रचलन अहिले अभ्यासमा ल्याउने कोसिस गर्दैछौं ।’

अध्यक्ष थापाका अनुसार अहिले ‘घर कर’ तिर्नका लागि गाउँबासीले आनाकानी गर्ने गरेका छन् ।

तर, गाउँपालिकाको अरू आम्दानीको स्रोत कम रहेकाले घरलौरी कर उठाउन थालिएको उनले बताए ।

(यो समाचार  अनलाइन खबर असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links